अष्ट्रेलियामा बा-आमा ल्याउँदा यस्ता कुरामा दिनुस् ध्यान

नेपालीहरूको धेरै बसोबास भएका अष्ट्रेलियाका मुख्य मुख्य 'सबअर्व'हरूमा ढाका टोपी ढल्काएर हिँड्नेहरुको संख्या बढ्दो छ। नेपाली पारामाढाका टोपी ढल्काएर हिँडेका 'बा' र ति 'बा'को साथमा हिँडेका 'आमा' देख्दा अष्ट्रेलियासानै उमेरमा छिरेका धेरै नेपाली युवाहरूलाई आफ्नै 'बा', 'आमा' जस्तै लाग्नु स्वभाविकनै हो। कतिलाई यीनै बा आमा देखेर आफ्नो बा, आमाको झल्को मेटिन्छ भने कति 'पार्क'मा यीनै बा, आमासँग केही समय बिताएर आफ्नो घरको नियास्रो मेट्छन्। अष्ट्रेलियामा पाँचसात वर्ष बिताई सकेपछी र यहाँ 'सेटल' भईसकेपछी आफ्ना बा, आमालाई आफु बसेको संसार देखाउन ल्याउन चाहनु र ल्याउनु पनि स्वभाविक हो। त्यसैपनि छोराछोरी अष्ट्रेलियामा बसेकाछन्, पीआर, नागरिकता उतैको लिए, बडेमानको घर पनि किने रे, छोरा बुहारी दुबैका आ-आफ्ना कार छन्, नातीनातिना भईसके भनेर उता नेपालमा बा, आमाहरूको दैनिकी नै छोराबुहारीको बखान गर्दैमा बितिरहेको हुन्छ। उहाँहरूलाई पनि एकपटक नातीनातिनाको मुख हेरम भन्ने हुन्छ, त्यसै पनि भनाई नै छ 'सामको भन्दा ब्याजको माया'। त्यसमाथि ऋण धन गरेर, आधा पेट खाएर हुर्का बढाएको सन्तान, कतिपयले त 'गैरी खेत' नै बेचेर छोरा वा छोरीलाई अष्ट्रेलिया पठाएको हुन्छ। धेरै अष्ट्रेलियामा 'सेटल' भएकाहरू आफ्नो 'विशिष्ट' क्षमताले मात्रै अष्ट्रेलिया आएका हैनन्, अष्ट्रेलियाको आवस्यकता, आफ्नो चाहना र पढाई अनि बा, आमाकोहैसियतसँग मिल्नु नै 'अष्ट्रेलिया सेटलमेन्ट'को कारक बनेको हुन्छ धेरै सन्दर्भमा। 

नेपाली आमा बुबा

नेपालबाट अष्ट्रेलिया छिरेपछी पनि जिन्दगी नेपालमासोचे वा सुने जस्तो हुँदैन। बा, आमाले आफूलाई हुर्काउँदा गरेजस्तै दुख गर्नुपर्छ अष्ट्रेलियामा उभिन अनि 'पीआर' घर जोड्न सफल हुन। अष्ट्रेलियाको जिन्दगी र कमाई खर्चको जाँतोमा पिसिंदा धेरै सपनाहरू चामलका घुन जस्तै सकिन्छन्। अनि विस्तारै 'आप्रवासी' एउटा 'कर्पोरेट व्यक्ति' बन्छ, हरेक कुरामा नाफा घाटाको हिसाब राख्ने। यो यतिसम्म हुन्छ कि बा, आमालाई अष्ट्रेलिया घुमाउने, देखाउने कुरामा पनि नाफा घाटाको हिसाब गर्न मनलाग्छ। यस्ता कुराहरू जायज पनि लाग्न थाल्छ। किनभने यस्ता उदाहरण आजकल धेरै देखिन थालेको छ। त्यसो त सम्बन्धहरूलाई नाफा घाटामा हेर्न आफु बसेको 'नेटवर्क'ले नै सिकाई रहेको हुन्छ। आजकल त अष्ट्रेलियामा साथीलाई साथीभन्दा पनि 'क्लाईन्ट'का रूपमा हेर्ने धेरै छन्। नयाँ बिजनेस आईडिया जो लोकप्रिय भईरहेको छ।

यस्तै कारणहरूले गर्दा यतिखेर अष्ट्रेलियामा बा, आमालाईल्याउनेहरूले बा, आमालाई आफ्नो प्रगती देखाउने, अष्ट्रेलिया देखाउने भन्दा पनि सानाबच्चा हेर्ने 'धरालो' लगाउने उदेश्य हुन थालेको छ। 'सुत्केरी' भएको चार पाँच महिनापछि काममा फर्कनुपर्ने बाध्यता धेरैको छ। त्यसो त सुत्केरी हुँदाको बखत श्रीमानलाई मिल्ने दुई साताको बिदाले मात्र पुग्दैन, श्रीमान्, श्रीमती दुबै वा एकजनाले कामबाट बिदा लिएर बच्चा हुर्काउने भन्ने नि अधिकांशको आर्थिक हैसियतले धान्ने हुँदैन। त्यसैलेधेरैले बा, आमालाई अष्ट्रेलिया 'सुत्केरी' हुने समय मिलाएर ल्याएको देख्न सकिन्छ। त्यसो त विवाहितहरुले 'ग्र्याजुएसन', 'सुत्केरी', र 'भातखुवाई' तिनवटा संयोग मिलाएर बा, आमा र सासु ससुरालाई अष्ट्रेलिया ल्याएको पनि देख्न सकिन्छ। व्यवहारिक रूपमा यी कुरा गलतैत होईनन् तर बा, आमा र छोरा बुहारी वा छोरी ज्वाईं दुवै पक्षलाई बराबर हार्दिक बन्ननसकेको कुरा सुनिन थालेको धेरै भईसकेको छ। जसलाई सामाजिक मञ्च र मिडियाले नयाँ 'टर्म'नै दिईसकेको छ 'तेल भिसा'।  'तेल भिसा' मा बा,आमा वा सासु ससुरालाई अष्ट्रेलिया ल्याउनेहरूको जोड उनीहरूलाई सहज दैनिकीका साथ उनीहरूको सहयोग लिउँ भन्ने भन्दा पनि उनीहरूले 'गर्नै पर्छ' भन्नेमा हुनु चाहीँ दुखद हो।

अष्ट्रेलिया आएका बा-आमाको उमेर र शरिरको अवस्था विचार गरेर उहाँहरूलाई नियमित खानाको साथमा सप्लिमेन्टको पनि आवश्यकता हुनसक्छ। यस्ता सप्लिमेन्ट फर्मुलाहरूले उहाँको स्वास्थ्य र शरिर दुवैलाई फाईदा गर्दछन्। यसबारेमा जीपीसँग सल्लाह गरेर निर्णय गर्न सकिन्छ। तस्विर: अमेजन


नेपालबाट बा, आमा, सासु ससुरा ल्याउने  छोरा बुहारी वा छोरी ज्वाईंहरूले उहाँहरूको आवश्यकता,नियमित दैनिकी र रूचीहरूको पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यसो नगर्दा अष्ट्रेलियाका पार्कहरूमा एकोहोरिएका, रोईरहेका अनि चुरोटका ठुटा टिपीरहेका नेपाली बा, आमाहरू देखिनेक्रम बढ्दो छ। अष्ट्रेलियामा सेटल भएका घर किनेका छोरा-बुहारी, छोरी‍-ज्वाईंहरूले बा,आमा, सासु ससुरालाई यहाँ ल्याउँदा यस्ता कुरामा ध्यान दिनुपर्ने देखिन्छ !

  • बा, आमा, सासु ससुराले धेरै समय नेपाल, नेपाली भाषा र नेपाली संस्कृतीमा बिताएको हुनाले उहाँहरूको अष्ट्रेलिया र यहाँको समाज शैलीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। उहाँहरूलाई 'एडजस्ट' हुन समय र सिकाई दुवै आवश्यक हुन्छ, काम र सिफ्टमा व्यस्त हुनुहुन्छ र समय दिन सक्नुहुन्न भने उहाँहरूलाई ल्याउन हतार नगर्नुस् वा अलिक लामो समय देखि योजना बनाउनुस् र त्यसै अनुसार तयारी पनि गर्नुस्।

  • धेरैले बा-आमा अष्ट्रेलिया ल्याउँदा गर्ने गल्ति भनेको उपयुक्त बीमा नगर्नु पनि हो। बा-आमाको स्वास्थ्यमा तलमाथि हुनासाथ अस्पताल तथा उपचारमा धेरै खर्च हुने र समुदायमा आर्थिक सहयोगका लागी हात उठाउनुपर्ने भएको धेरै देखिईसकेको छ। त्यसैले बा-आमालाई अष्ट्रेलिया ल्याउँदा बीमा गर्न नचुक्नुस्। खासमा यो बीमा गर्ने कुरा भिजाको शर्त पनि हो। आर्थिक हिसाब गर्नुहुन्छ भने त यो नगरी नहुने कुरा हो।
  • धेरैमा आफू पाँच दश वर्ष अष्ट्रेलिया बसेपछी अष्ट्रेलियननै भएँ, यहाँको जस्तो लुगा नलगाउने हो भने त सभ्य नै भईन्न भन्ने कमजोर मानसिकताले घर गरेको हुन्छ। त्यसो भनेर बा, आमा वा सासु ससुरालाई उनीहरूको चाहना, ईच्छा मतलब नै नगरी सर्ट, सिसर्ट, पाईन्ट, चश्मा देखी कपाल रंग्याई दिने नगर्नुस्।
  • बा, आमा वा सासु ससुराको खानपानमा ध्यान दिनुस्। माछामासु नखानेहरूलाई जोड दिएर खुवाउनु सही हुँदैन। उहाँहरूको आहार योजनालाई सन्तुलित बनाउनुस्। फ्रिजमा वा भण्डारमा राखिएका खानेकुरा खान प्रेरित गर्नुस् गनेर र हिसाब गरेर खाने नगर्नुस्। बा आमालाई भोकै र उहाँहरूको आत्मा मारेर कमाएको धनले कहिल्यै राम्रो हुँदैन।

  • बा-आमा अष्ट्रेलिया ल्याउँदा उहाँहरूलाई सुताउने, बसाउने, टिभी हेर्ने व्यवस्था मिलाउनुस्। एक साता भन्दा लामो बसाईं अवधी छ भने उहाँहरूको लागी छुट्टै कोठाको व्यवस्था गर्नुस्। धेरैको गुनासो आईरहेको हुन्छ कि छोरा बुहारी वा छोरी ज्वाईंले हामीलाई बैठक कोठा (लाउन्ज)मा सोफामा सुताए, बिचार गर्नुस् ६०-७० वर्षको उमेरको ज्यान सोफामा सुत्दा के होला? त्यसैले छुट्टै कोठा र सुत्ने खाट वा मेट्रेसको राम्रो प्रबन्ध गर्नुस बोलाउनु अघि नै।
  • बा, आमा वा सासु ससुराको कुनै खास 'अम्मल' जस्तो कि चुरोट खैनी खाने छ भने त्यसको पनि पुरापुर ख्याल राख्नुस्। ताकी उहाँहरूलाई 'अम्मल'कोकारण पार्कमा चुरोटका ठूटा टिप्नुपर्ने अवस्था नआओस्।
  • उहाँहरूको भाषाको समस्या र मनोरंजनको आवश्यकतालाई हेर्दैकम्तिमा पनि उहाँहरूको बसाईंको अवधि सम्मलाई भएपनि घरमा नेपाली टिभी हेर्ने व्यवस्थामिलाउनुस्।
  • बा, आमा वा सासु ससुराको सामाजिक अन्तर्क्रियाको पाटोलाई नबिर्सनुस्। धेरै जसो आजकल सिड्नी र मुख्य अष्ट्रेलियाई शहरहरूमा नेपाली अभिभावकहरूकोभेला, घुमघामको कार्यक्रम बनिरहेको हुन्छ त्यस्तामा उहाँहरूलाई सहभागी बनाउनुस्।
  • बा, आमा वा सासु ससुरालाई 'पार्टी'हरूमा सहभागी बनाउँदाउहाँहरू प्रतिको 'रेस्पेक्ट'को ख्याल गर्नुस्। अष्ट्रेलिया आउँदैमा 'रक्सी' खानै पर्छभन्ने छैन, उहाँहरुलाई पनि खानमा जोड नगर्नुस्। सकेसम्म उहाँहरूको अगाडी नखाँदा राम्रो।(हुन त कतिपयको त नेपाल देखी नै बाबुछोरा एउटै खालमा तास खेल्ने सँगै बसेर रक्सी पीउनेपनि हुन्छ त्यसमा त खास फरक परेन)
  • बा, आमा वा सासु ससुरा सँग कम्तिमा पनि पाक्षिक वा मासिक रूपमा पारिवारिक घुमघामको लागी समय दिन नछुटाउनुस्। तपाईंका छोराछोरी बुझ्ने भईसकेका छन् भने नेपाली संस्कार सिकाउने अवसर यही हो, बा, आमा वा सासु ससुराका कथा र अनुभव सुनाउन र सुन्न प्रेरित गर्नुस्। याद गर्नुस् तपाईंले गर्ने बा, आमा वा सासु ससुरा प्रतिको व्यवहार नै हो छोराछोरीले गर्ने। 'बाबु फाल्ने डोको' कथा सम्झनुस्, बुढोभएपछी 'एज्ड केयर' नै जाने हो के रे! भन्ने मानसिकता बिर्सनुस्।

  • हो, बा आमाले नाती नातिना हेर्नुपर्छ, एशियाको र हाम्रो मात्र प्रचलन हैन संसारका अरू धेरै समाजका अभिभावकले आफ्ना नाती नातिना हेर्ने, स्याहार गर्ने गर्दछन्। यो एउटा पुस्तान्तरणको प्रक्रिया पनि हो। तर, त्यसो भन्दैमा सबै उहाँहरूको जिम्मा हो हामी आफ्नो सिफ्टको काम गरेर आएका छौं खाना बनाउने र छोराछोरी हेर्ने सबै उहाँहरूकै हो भन्ने सोच नराख्नुस्। उहाँहरू उमेर र शरिर दुवै हिसाबले थाकिसकेको हुनुहुन्छ। श्रीमान वा श्रीमती मध्ये एउटाले 'पार्ट-टाईम' काम गरेर भएपनि आफ्नो बच्चा हेर्ने र घर धान्ने काम गर्नुस्। बा आमाले सहयोग दिने हो सबै तपाईंको घर धान्दिने हैन।

(यसमा तपाईंहरू पनि आफुले देखे महशुस गरेको कुरा थप्नसक्नुहुन्छ। तपाईंको भनाईलाई हामी लेखमा अध्यावधिक गरेर समेट्ने छौं)   

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्