अष्ट्रेलियामा एघार महिनामा १७६ नेपालीले हाले रिफ्युजी भिसा

रिफ्युजी भिसा भनेर चिनिने प्रोटेक्सन भिजा (सबक्लास ८६६) हाल्ने नेपालीको संख्या २०२२ को नोभेम्बर सम्ममा १७६ रहेको तथ्यांकले देखाएको छ। होम अफेयर्सको अष्ट्रेलिया भित्रैबाट हालिएका रिफ्युजी भिसाको तथ्यांकमा यो सबक्लासको भिजा हाल्नेको संख्यालाई देशको आधारमा गरिएको वर्गीकरणले नेपालीहरूको संख्या उल्लेख गरेको हो। पछिल्लो समय विभिन्न भिसामा अष्ट्रेलिया आउने नेपालीहरूले यहाँ आईसकेपछी प्रोटेक्सन भिजाको निवेदन दिने क्रम बढेको छ।  

Man with Australian Flag


सबैभन्दा धेरै रिफ्युजी भिसा सेप्टेम्बरमा हालिएको छ। सेप्टेम्बरमा २९ नेपालीहरूले रिफ्युजी भिसा हालेका छन्। नोभेम्बरमा मात्र २४ जनाले रिफ्युजी भिसाका लागी आवेदन दिएको तथ्यांक छ। जुन र अक्टोबर महिनाको तथ्यांकमा नेपालीहरूको संख्या उल्लेख छैन। त्यस्तै अष्ट्रेलियाको प्रशासनिक पुनरावलोकन न्यायाधिकरण (एडमिनिस्ट्रेटिभ अपिल्स ट्राईब्युनल)को पछील्लो तथ्यांकले नोभेम्बरको अन्त्य सम्ममा एकसय सात नेपालीको ‘रिफ्युज’ भएका रिफ्युजी भिसाको संख्या देखाएको छ। 

यो पनि पढ्नुस्ः नक्कली लाईसेन्सले गाडी चलाउने तीन समातिए
Protection Visa application by Nepalese in 2022


नेपालीहरूलाई एकदमै कम मिल्छ रिफ्युजी भिसा 


अष्ट्रेलियामा अनेकन उपाय लगाएर आएपनि भविष्य र यहाँ नै बस्न सक्ने भिजा र माध्यम नभेटेपछी काम गर्ने पैसा कमाउने समय किन्ने माध्यमका रूपमा रिफ्युजी भिसा हाल्नेलाई लिन थालिएको छ। कतिले भने नेपालबाट नै रिफ्युजी भिसा हाल्ने योजनाका साथ ‘बिजनेस एक्टिभिटिज भिसा’, ‘भिजिटर भिजा’, वा विभिन्न कार्यक्रममा कलाकारको सहयोगी बनेर आउन राम्रै आर्थिक लगानी गरेका हुन्छन्। नेपालीपेज टीमले फरक प्रसंगमा ३० लाख नेपाली रूपैंया (करिब ३५ हजार अष्ट्रेलियन डलर) तिरेर ‘बिजनेस एक्टिभिटिज भिसा’मा सिड्नी आएर रिफ्युजी भिसा हाल्ने योजना भएकालाई प्रत्यक्ष भेटेको पनि छ। 

नेपालमा राजनीतिक तथा द्वन्द्वको अवस्था नरहेको र नेपालीहरूलाई भारतसँगको खुला आवतजावतको व्यवस्था रहेकाले ज्यानकै खतरा भएपनि नेपालीलाई अष्ट्रेलियाले शरणार्थी मान्ने र भिजा दिने संभावना निक्कै कम छ। तर पनि यो भिजालाई कतिपयले अष्ट्रेलियामा बस्ने समय किन्ने माध्यम बनाएको अष्ट्रेलियाका प्रसिद्ध नेपाली कानुन व्यवसायी समशेरसिंह थापा बताउनुहुन्छ। मेडिकेयर र पूर्णकालिन काम गर्ने अधिकार पाउने हुनाले आर्थिक उपार्जनको अवसर बनाउनको लागी यसखालको भिसा हाल्ने क्रम बढेको कारण साँच्चै अष्ट्रेलिया आउन चाहने र पर्नेहरूलाई भिसा पाउनको लागी अप्ठेरो पर्न थालेको उहाँको भनाई छ। 
अष्ट्रेलियाको गृह विभाग (होम अफेयर्स)को तथ्यांकले पनि निक्कै कम नेपालीले मात्र यसखालको भिसा पाएको देखाउँछ। 

मानव तस्करीको आशंका 


नेपाली समुदायका अगुवाहरुले अष्ट्रेलियामा विभिन्न सांगितीक कार्यक्रम र सामुदायिक गतिविधीका माध्यमबाट मानव तस्करीको काम भईरहेकाले शंका गरेका छन्। अष्ट्रेलियामा शरणार्थी भिजाको माग गर्ने नेपालीको संख्या बढ्नुमा अरू कुनै उपाय नलाग्ने देखिएका व्यक्तिहरू बढेको कारण हुनसक्ने शंका पनि उनीहरूको छ। पछिल्लो समय विभिन्न मनोरंजनात्मक कार्यक्रममा कलाकारको सहयोगी बनेर आउनका लागी ४० देखी ४५ लाख नेपाली रूपैंया (करिब ५० हजार अष्ट्रेलियन डलर) तिर्ने र यहाँका ईभेन्ट कम्पनी पार्टनरहरूले अष्ट्रेलिया आईसकेपछी कलेजमा भर्ना गरिदिने, विद्यार्थी भिसामा जान नमिले रिफ्युजी भिसा हालेर पाँच सात वर्ष बस्ने व्यवस्था गरिदिने डिल हुने गरेको फेला परेको छ। अष्ट्रेलियामा फिल्म सुटिङ टीममा सहभागी भएर आउनका लागी आफूले २७ लाख तिरेको र अष्ट्रेलिया आएपछी विद्यार्थी भिजामा जाने सहमती भएको नेपाली पेजसँग त्यसरी आउन लागेका एक युवाले बताएका छन्। 

कार्यक्रमको नाममा मानव तस्करी हुने गरेको नेपालका धेरै सांगीतिक ब्याण्डहरूले पनि यतिखेर खुलेर कुरा गर्न थालेका छन्। हालै मात्र अनुप्रस्थ ब्याण्डले आफ्नो नाम र लोकप्रियताको प्रयोग गरेर अष्ट्रेलियामा कार्यक्रमको नाममा मानव तस्करीमा आफूहरूलाई प्रयोग गर्न खोजेको भनेर विभिन्न संवाद तथा जानकारीहरू सार्वजनिक गरेको थियो। 
      

अभिभावक बनेर आउनेले समेत रिफ्युजी हाल्न थाले 


खेलाडी, कलाकार, पत्रकार, मानवअधिकारवादी नेपालमा अनेकन सम्मानित क्षेत्रमा रहेकाले पनि अष्ट्रेलिया आएर शरणका लागी भिसा निवेदन दिने क्रम पुरानै रहेको सामुदायिक अभियन्ता बताउँछन्। क्विन्स्ल्याण्ड नेपाली समुदायका एक प्राज्ञिक व्यक्तित्वले भन्नुभयो,’समुदायको अगुवा भनेर, नेता भनेर प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रममा पुग्नेहरू नै कागज मिलाएर रिफ्युजी दाबी गरेकाहरू छन्’। उहाँको भनाईले देखाउँछ कि नेपाली समुदायमा अष्ट्रेलियाको मानवीय सहयोगका लागी तयार गरिएको भिसा सुविधालाई कसरी दूरूपयोग भएको छ। त्यसरी दूरूपयोग गर्नेहरू नै सम्मानित त समुदायको नेता बनेपछी अरूलाई दूरूत्साहन हुनु स्वभाविक हो। 


त्यसले पनि रिफ्युजी हाल्नेको मनोबल र संख्या बढिरहेको छ। पछिल्लो समय छोराछोरीले अष्ट्रेलिया आएका बा-आमाले नै पनि शरणार्थी दाबी गर्दै रिफ्युजी भिसा हाल्न थालेका छन्। त्यसरी भिजा हाल्ने अभिभावकहरू करिब १० जना जति रहेका छन्। अष्ट्रेलिया छोराछोरी भेट्न आएकाहरूनै रिफ्युजी भिसा हाल्न थालेपछी अध्यागमनले अभिभाकको भिजिटर भिसा समेत रिफ्युज गर्न थालेको छ। जसका कारण साँच्चै पारिवारिक अवस्थाका कारण अभिभावक ल्याउन खोज्नेहरू मारमा परेका छन्।  



Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्