एनआरएनए चुनाव: डिला, अनिल कि देव? को होला नेतृत्वमा

यतिखेर सिड्नीमा चिसो छ मौसमको मिजाज। तर, नेपाली समुदायमा भने रापिलो तापले धेरैलाई जुरुक्क बनाएको छ। चुनावी हत्कण्डाको चर्चा छ कतै त कतै कसको मान्छे को भन्नेको चर्चा छ। अरूबेला झैं शुक्रबार कुर्नुपर्दैन 'पब'मा 'पोलिटिकल' गफ दिनलाई। सित्तैको बियर खुवाउने नि प्रसस्तै छन् भन्ने हल्ला त सँधैको मौसमी नै भईहाल्यो। यस्तो अवस्थामा एकदमै नजिक रहेको चुनावको चहलपहलले राज्य राज्य तताएको छ। दौडाहामा छन् राष्ट्रिय स्तरका एनआरएनए उमेदवारहरू। एउटा तप्का जमेर भाग लिएको छ भने अर्को तप्काले 'बालै फरर' गरेको छ। सामाजिक संजालमा उफ्रने त 'ग्लोबल ट्रेण्ड' नै हो। 


चुनाव आउनु केही दिन मात्र अघि, गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अष्ट्रेलियाको चुनावी चहलपहल आफूलाई आउने मतको हिसाब गर्नमा जुटेको छ। जुलाई २९ मा हुने चुनावमा उठ्ने उमेदवारको सबै संख्या धेरैलाई पत्तो छैन, तर डिला, अनिल वा देव कसले नेतृत्व गर्छ त अष्ट्रेलियाको ठूलो सामुदायिक आधार भएको संस्थालाई भन्नेमा चासो छ। 

अध्यक्षका प्रत्याशी बनेर चुनावको प्रचारमा जुटेका डिला खरेल, अनिल पोखरेल र देव गुरूङ यति खेर आफूले नेतृत्व सम्हाल्ने अवसर पाएमा गर्ने कुराहरूको पेटारो खोल्दैहुनुहुन्छ। रूपमा केही फरक शब्द र शैली भएपनी सारमा तीनै पक्षले आफू निर्वाचित भए गर्ने भनेको विषय र उठाउने मुद्दा उस्तै नै छन्। 

टीम अनिल

अनिल पोखरेलको टीम

कोषाध्यक्षको रूपमा दुई कार्यकाल बिताए लगत्तै अध्यक्षका लागी दाबी गरेर उमेदवारीमा उभिनुभएका अनिल पोख्रेललाई धेरैले नयाँ पुस्ता र युवा भनेर लिने गर्दछन्। पछिल्लो समय एनआरएनएको आर्थिक चुस्तता र समग्र 'परफरमेन्स'को 'क्रेडिट' उहाँको पोल्टामा परेको देखिन्छ। धेरैले उहाँको व्यवसायिक करिअरको व्यक्तित्वमा परेको प्रभावका कारण उनले जितेको खण्डमा एनआरएनएको सुदृढिकरण र शुद्धिकरण हुने आशा राखेको पाईन्छ। तर विपक्षमा रहनेहरू उनको 'रेटोरिक' र 'रियालिटी'को तादात्म्य नमिल्ने बताउँछन्। 
समग्रमा उहाँले उठाएका एजेण्डा यस्ता छन्:   

उहाँले यदी आफूले एनआरएनए अष्ट्रेलियाको नेतृत्व गर्न पाएको खण्डमा अष्ट्रेलियाको नेपाली समुदायलाई बढी अन्तर्क्रियात्मक र सक्रिय बनाउने साथै अष्ट्रलिया र नेपालका  सरकारसँगका सम्बन्ध सुदृढ बनाउने,  एनआरएनएको दीगो विकास र सुधार,  अचल सम्पत्ति खरिद, नेपाली अन्तर्राष्ट्रिय  विद्यार्थीलाई सहयोग,  अष्ट्रेलियाको नेपाली दोश्रो पुस्तालाई शसक्तिकरण र प्रबर्धन साथै एनआरएनए अभियानमा नै  क्षेत्रिय आवाजलाई बुलन्द गराउने लगायतका काम गर्ने बताउनु भएको छ। साथै अष्ट्रेलियामा नेपालीहरूले भोग्दै आएको कमजोर राजदूतावासको सेवालाई चुस्त र दुरूस्त पार्नको लागी भूमिका खेल्ने साथै  महिला शसक्तिकरण र अन्य सामुदायिक विषयमा सुधारका काम गर्ने विषय नै उहाँको पक्षको मूख्य एजेण्डाका रूपमा रहेको छ। 

टीम डिला 

डिला खरेलको टीम
डिला खरेल अष्ट्रेलियामा चर्चित नेपाली अनुहारमा पर्ने नाम हो। लामो समय देखी एनआरएनए र सामुदायिक गरिविधीमा सक्रिय भएकाले उहाँलाई धेरैले यसपटक अध्यक्षमा जिते हुन्थ्यो भनेर सुभेक्षा राखेको देखिन्छ। तर, धेरै समय देखी अध्यक्षमा उठ्ने नउठ्नेको दुविधाको अवस्थाबाट पार हुनुभएका उहाँलाई आफ्नै निकटहरूले अप्ठेरोमा पार्ने हुन् कि भन्ने आशंका पनि व्याप्त छ। केही व्यक्ति र समुह उहाँको विपक्षमा खुलेरै लागेको भनेर सामाजिक संजाल रंगिएको छ। पृष्ठभूमिका सम्बन्ध र राजनीतिक विषयलाई उछालेर समान आश्था हुनेहरूले नै उहाँलाई असहयोग गरिरहेको स्थिती छ। एउटा युवा पंक्ति उहाँको पक्षमा खडा देखिन्छ। 

समग्रमा उहाँले उठाएका एजेण्डा यस्ता छन्:   

यदी निर्वाचित भएमा आफ्नो टीम मार्फत नेपाली कला संस्कृतिको प्रबर्धन, अष्ट्रेलियामा बलियो नेपाली समुदाय, अष्ट्रेलयामा रहेका नेपाली युवाको शसक्तिकरण, उनीहरूलाई उद्यम र स्वरोजगार बन्न सहयोग, साथै विश्वव्यापी रूपमा नै  बलियो नेपाली संजाल, 
विज्ञसँगको समन्वय,  एनआरएन डाटाबेस साथै नेपालको पर्यटन प्रबर्धन र नेपालमा एनआरएन लगानीलाई बढावा र सुरक्षा सुनिश्चितताका पक्षमा काम गर्ने उहाँको दृढता छ। 


टीम देव 

देव गुरूङको टीम

सेवानिवृत्त सैनिकको पहिचान र समुदायमा संकटमा डटेर सेवामा जुटेको अनुभव देव गुरूङको समुदायमा आर्जेको सम्पत्ति हो। उहाँ हरेक जसो कार्यक्रममा उत्तिकै सक्रियताका साथ सहभागी हुनुहुन्छ भने सबैलाई हौसला र सहयोग दिनमा अगाडी हुनुहुन्छ। कोरोनाकालमा उहाँको खटाईलाई सम्झेर उहाँलाई नै जिताउनुपर्छ भन्ने पनि धेरै छन्। विपक्षीहरु भने उहाँ सेवामा अब्बल भएपनि नेतृत्व दिएर अगाडी लैजानका लागी अल्लि कमजोर हुने हो कि भन्ने आशंका गर्दछन्। 

 समग्रमा उहाँले उठाएका एजेण्डा यस्ता छन्:   

एनआरएनको नेतृत्वमा पुग्न सके देव गुरूङ्ग र उहाँको समुहले संस्थाको नीतिगत र दस्तावेजमा सुधार ल्याउने, अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बनाउने, समुदायको शसक्तिकरण र अन्तरघुलनलाई जोड दिने, अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीहरूलाई नेपालमा नै अष्ट्रेलियाको पढाई र जीवनशैलीका बारेमा अभिमूखिकरण र सचेतनाको कार्यक्रम चलाउने लगायतका काम गर्ने जनाएको छ। उहाँहरूको एजेण्डामा  अष्ट्रेलिया र नेपाल सरकारसँग गैरआवासिय नेपालीहरूको हितबारे पैरवी साथै आम नेपालीले अष्ट्रेलियामा भोग्न परेको समस्याहरूको समाधानका लागी दीगो पहल गर्ने लगाएतका छन्। 

 नेपालको राजनीतिले बिभाजित छ एनआरएनए 

विधान र सामुदायिक स्वीकार्यताका लागी गैरराजनीतिक भने पनि एनआरएनए नेपालका राजनीतिक दलका विदेशिएका कार्यकर्तालाई जोड्ने कडीका रूपमा देखिएको छ। अष्ट्रेलिया अरू देश भन्दा फरक छैन यहाँ पनि एनआरएनको चुनाव र कार्यशैलीमा समानता सँगै नेपालको राजनीति पनि मिसिएको छ। खुलेर नभनिए पनि नेपालको राजनीतिक दलको शुभेक्षा, अझ आशिर्बादको समेत अपेक्षा गर्ने गरेर संस्था चलिरहेको छ। 

अहिले नै संस्थाको नेतृत्वको छनौट प्रक्रियामा रहेकाहरू कतै न कतैको राजनीतिक लाईनबाट अछुतो छैनन्। तर पनि पहिले जस्तो गरेर नेपालको राजनीतिको रंगमा रंगिने अवस्था भने छैन। अष्ट्रेलियाको नेपाली समुदायमा 'स्किल्ड' पुस्ता शसक्त बनिसकेकाले नेपालको राजनीतिको फेरोले अष्ट्रेलियाको बैरतणी तर्न अब भने मुस्किल छ। 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्