अष्ट्रेलिया नेपाल सम्बन्ध विकसित भएको लामो समय भएपनि नागरिक र राज्यस्तरमा महत्वपूर्ण सम्बन्ध विकास हुन नसकिरहेको परिप्रेक्षमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स नेपाल भ्रमणमा जानुहुने भएको छ। अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले औपचारिक रूपमा वाट्सको भ्रमणको तालिका पनि सार्वजनिक गरेको छ। राजदूतावासका अनुसार मे महिनाको १६ तारिख मंगलबार र १७ तारिख बुधबार वाट्स नेपाल भ्रमणमा रहनुहुनेछ।
नेपाल भ्रमणमा जाने भएपछी उहाँले अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने क्रम बढाउनु भएको थियो। नेपाल र अष्ट्रेलिया बिच कुटनीतिक सम्बन्ध बिस्तार भएको छ दशक पुरा भईसकेपनि खास सम्बन्ध बन्न भनेको छैन। अष्ट्रेलियाको आर्थिक तथा सामरिक चासोमा नपर्ने भएकाले नेपाल अष्ट्रेलियाको तर्फबाट सहयोग प्राप्त गर्ने मुलुकका रुपमा मात्र सिमित हुन पुगेको छ।
अष्ट्रेलियाको नेपाली समुदायलाई प्रतिनिधित्व गर्छौं भन्ने संस्था र नेतृत्व सुझबुझ सहितको नहुँदा पनि नेपाल र अष्ट्रेलियाको कुटनीतिक सम्बन्धले गम्भिर र आवश्यक ओज लिन नसकेको विज्ञहरू बताउनु हुन्छ। नेपालका धेरै अवैतनिक महाबाणिज्यदूतहरू अष्ट्रेलियामा कलेजहरू संचालन गर्नेहरू मध्येबाट हुनुहुन्छ। उहाँहरूको कलेजमा ठूलो संख्यामा नेपाली विद्यार्थी पढ्ने गरेका छन्। र नेपाली पक्षले अष्ट्रेलियाका नेता तथा सरकारी अधिकारी भेट्दा नेपालबाट भिजा अप्लाई गर्ने व्यवस्था, भिजा व्यवस्था सहज बनाउनुपर्ने जस्ता स्वार्थ बाझिने विषयहरू प्रमुखताका साथ उठाउने भएकाले पनि अष्ट्रेलियाले नेपाल र नेपालीसँगको 'ईन्गेजमेन्ट'लाई औपचारिक तहमा मात्र राखेको हुनसक्ने कुटनीतिका जानकार बताउँछन्।
Post a Comment