एनआरएनए 'प्रेजिडेन्ट'लाई अमेरिकी 'प्रेजिडेन्ट' नबनाऔं

अष्ट्रेलियाका नेपालीहरूको एउटा समुहलाई यतिखेर चुनावी रौनक आएको छ। संख्याका हिसाबले एनआरएनए अष्ट्रेलियामा बस्ने नेपालीहरूको चौथाईको पनि संस्था होईन। तर, यसको चर्चा र यसको नेतृत्वका लागी चलेको होडबाजी हेर्ने हो भने यो संस्था पुरै अमेरिका र यसको नेतृत्वको पद अमेरिकी राष्ट्रपतिको जस्तो बनेको छ। हरेक दुई वर्षमा हुने नेतृत्व चयनको समयमा नेपाली समुदायमा हुने चहल पहल हेर्ने हो भने अमेरिकी राष्ट्रपतिय निर्वाचनको जस्तो देखिन्छ। हुन चाहिँ यो संस्था गैरनाफामूलक र स्वयंसेवी समाजसेवा गर्ने संस्था हो। 

यतिखेर यो संस्थाको सदस्यता खुलेदेखी यसको नेतृत्वका लागि हुन लागेको चुनावी चहल पहल हेर्ने हो भने लाग्छ यहाँ अमेरिकी राष्ट्रपतिको निर्वाचन चलिरहेको छ। र, 'प्रेजिडेन्ट' हुनेले सबै कार्यकारी अधिकार प्रयोग गरेर समुदाय, देश र विश्वमा नै आमुल परिवर्तन ल्याउनेवाला छन्। आर्थिक परिचालन, देश विदेशबाट पार्न खोजिने प्रभाव देखी समुदायमा अगाडी देखिईरहेकाहरूको दैनिकीको दौडाहा देख्दा यो कुनै अभूतपूर्व अधिकार सहितको कार्यकारीका लागी हुन लागेको निर्वाचन जस्तो देखिन्छ। फलानोले यति सदस्य बनायो, यति खर्च गरयो भनेको सामाजिक संजालमा नै सुनिने अवस्था छ। पैसा तिरेर भोटका लागी कसैलाई सदस्य बनाउने प्रचलनको त खुलेर आलोचना लुकेर पालना भईरहेको देखिएकै छ।

Mic and audience

यो पनि पढ्नुहोस्: एनआरएनमा सदस्यता शुद्धिकरणमा ठूलो फड्को, एउटा कार्डको भुक्तानीमा तीन सदस्य मात्रै

अनौपचारिक रुपमा लाखौं डलरको खर्च वा लगानी हुने भनेर भनिने गरेको निर्वाचनको पूर्व सन्ध्यामा सोसल मिडिया ह्याण्डल (भन्न त टिभी नै भनिन्छ :) )ले चलाउने 'प्रेसिडेन्सियल डिबेट' ले पनि नेतृत्वमा जान चाहनेलाई कता कता अमेरिकी राष्ट्रपतिको निर्वाचनमै पो भाग लिंदैछु कि भन्ने भान दिएको हुनुपर्छ। त्यसैले 'प्रेसिडेन्ट'को भूमिकामा देखा पर्न चाहनेहरूले अनेकन एजेण्डाहरुको घोषणा गरेका छन्। विद्यार्थीकालागी यसो गर्छु, नेपालमा लगानीका लागी यसो र अष्ट्रेलियाको नेपाली समुदायका लागी यसो। तर, यस्ता घोषणाहरू कार्यकारी अधिकार र राम्रो आर्थिक परिचालन सँगै समाजलाई बदल्ने हुटहुटी पनि जरूरी हुन्छ जसको 'सिक्वेन्स' मिलेजस्तो धेरैलाई नलागी रहेको अवस्था छ। 

एनआरएनए ठूलो हल्ला र अपेक्षा सहित सुरू भएको र निक्कै कम 'परफरमेन्स' भएको संस्था वा अभियान हो। गैर आवासिय नेपाली अभियान आफैमा भारतीयहरूको एनआरआईको बिग्रेको फोटोकपी हो भनिन्छ। एनआरआई अभियानले विदेशमा बस्ने भारतीय र भारतलाई जुन परिमाणमा लाभान्वित गरेको छ एनआरएनएले त्यसको फेदजति पनि छुन सकेको छैन। नेपालमा लगानी गर्नेहरूको स्वार्थ रक्षाका लागी संस्था प्रयोग हुँदै आएको छिपेको छैन भने अभियानको नेतृत्व लिएकाहरूको व्यवसायले नेपालमा निम्त्याएका अनियमितताको चाङ निक्कै ठूलो भईसकेको छ। एनआरएनएले संचालन गरेका कार्यक्रमहरू साथै काठमाण्डौंको भवन खरिदमा प्रसस्त शंका छ। एनआरएन सम्मेलनमा काठमाण्डौंमा हुने कुस्ति प्रतियोगिताको त मनोरंजक पाटो अर्कै छ। 

तरपनि, अष्ट्रेलियामा नेपालीहरूको यति धेरै सदस्य रहेको अर्को कुनै संस्था छैन, असल नेतृत्व हुने हो भने नेपाल र अष्ट्रेलिया दुवै देशमा एनआरएनएले नेपाली हितका पक्षमा धेरै काम गर्न सक्दछ। त्यसका लागी नेतृत्व र टीम पनि त्यस्तै नै हुनुपर्दछ। कि यसलाई समाजसेवा कै रूपमा स्वयंसेवी अभियान कै रूपमा राख्नुपरयो। कि अष्ट्रेलिया वा नेपालमा नेपाली केन्द्रीत व्यवसाय गर्ने, विभिन्न एजेन्टहरूको मार्केटिंग क्याम्पेनको अंगका रूपमा स्वीकार्नु परयो। पहिलो बनाउने हो भने यसमा राजनीतिक चेत, पहुँच बनाएका साथै व्यवसायिक क्षेत्रमा स्थापित (विशिष्टिकृत पेशा, वकिल, ईंजिनियर, आईटी प्रोफेसनल, प्रोफेसर, वौद्दिक, अन्तर्राष्ट्रिय विषयका विज्ञ, उद्यमी (ट्रेडर वा एजेन्ट हैन))हरू समेत अट्ने नेतृत्व विकासको विकल्प छैन। 

एनआरएनएलाई स्यवंसेवी र नेपालीसेवी संस्था बनाउने हो भने जम्बो टीम, जम्बो खर्च र नेपाल देखीको राजनीतिक पक्षधरताको कुहिरोमा रूमल्लिएर अमेरिकी प्रेजिडेन्टवाला फिलिंग दिने भन्दा पनि समाजसेवी अभियानकै रुपमा राख्न जरूरी छ। संस्था शुद्दिकरणको रट लगाउने तर २५ डलर तिरेर सदस्य बन्ने बनाउने खालको गतिविधी हुनुको कारण एनआरएनए 'प्रेजिडेन्ट' पदलाई अमेरिकी 'प्रेजिडेन्ट' जस्तो गरेर लिएर पनि हो। नत्र स्वयंसेवाका लागी लाखौं डलर र महिनौंको समय लगानी किन?    

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्