पृथ्वी जयन्तिमा अष्ट्रेलियामा मनाईयो नेपाली दिवश

सिड्नीका नेपाली समुदायिक नेताहरूले अष्ट्रेलियामा जन्मने र हुर्कने बच्चाहरूलाई नेपाली ईतिहास र पहिचान चिनाउन हिचकिचाउन नहुने बताए। 

Nepalese in Auburn Sydney celebrating Prithivi Jayanti
सिड्नीको ओबनमा हरेक वर्ष पृथ्वी जयन्तिका दिन अन्तर्राष्ट्रिय नेपाली दिवश मनाउँदै आईएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड लगायत सबै राज्यका प्रमुख शहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम गरे। 

सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रम गरियो। सिड्नीको कार्यक्रममा सहभागीहरूले नेपाली धर्म, संस्कृती र ऐतिहासिक पहिचानका मानकको माध्यमबाट अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न सकिने बताए। अष्ट्रेलियाको नेपाली समुदायका स्वतन्त्र अभियन्ताहरूको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली समुदायका अगुवा मदनमणि अधिकारीले पृथ्वीनारायण शाहको नेतृत्व र अगुवाईमा आधुनिक नेपाल र नेपालीको पहिचान स्थापित भएकाले अष्ट्रेलियामा नेपाली दिवशका माध्यमबाट पृथ्वीनारायण शाहको सम्झना गरिएको बताउनु भयो। नेपालमा भईरहेको राजनीतिक कित्ताकाट र दलका गुट उपगुटको राजनीति अष्ट्रेलियामा समेत आईपुग्दा अष्ट्रेलियाको नेपाली समुदाय नायक विहिन अवस्थामा पुगेको अवस्थामा पृथ्वीनारायण शाह र नेपाली दिवश समुदायलाई जोड्ने बिम्ब बन्न सक्ने अधिकारीले बताउनु भयो। ‘यतिखेर अष्ट्रेलियाको नेपाली समुदाय कै नेतृत्व गर्ने व्यक्तिको अभाव देखिन थालेको छ, नेपालका राजनीतिक दलको भातृसंगठनको समिकरणमा बन्ने र चुनिने नेतृत्व र संस्थाहरूले समुदायका व्यवसायिक व्यक्ति र विद्यार्थीलाई आकर्षित गर्न सकेका छैनन्, जसले गर्दा अष्ट्रेलिया बस्ने ठूलो नेपालीको संख्या संगठीत छैन, र गाह्रो साह्रो पर्दा नपाउनु पर्ने दुख भोग्नुपरेको छ’, उहाँले थप्नुभयो।   

अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी डिला खरेलले नेपाल निर्माता मात्र नभएर पृथ्विनारायण शाह नेपाली परिचय निर्माता समेत रहेको बताउनु भयो। ‘अहिले हामी अष्ट्रेलियामा नेपाली भनेर चिनिनुमा पनि पृथ्वीनारायण कै योगदान रहेको छ’ उहाँले भन्नुभयो। वर्तमानको अपवाद छोडेर अहिले पनि विश्वको पुरानो र स्वतन्त्र राष्ट्रियताले हामीलाई विश्वको कुनै पनि कुनामा शीर उठाएर हिँड्ने अवस्था छ, र आउने पुस्तालाई समेत यसखालको ऐतिहासिक विरासत मिल्नु सबैभन्दा महत्वको विषय हो, उहाँको भनाई थियो। 

कार्यक्रममा सहभागी युवा विद्यार्थि धर्वेन्द्र यादवले पृथ्वीनारायण शाहको योगदान नेपाललाई मात्र नभएर विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई रहेको भन्दै, ईतिहास जस्तै वर्तमान र भविष्य बनाउन संस्कृति र प्रविधीको क्षेत्रमा जोड दिनुपर्ने बताउनु भयो। हालै नेपालबाट अष्ट्रेलिया आउनुभएका ईन्जिनियर सन्तोष पोखरेलले नेपाली जहाँ भएपनि आफ्नो ईतिहास र पहिचान भुल्न नहुने विचार राख्नुभयो। सिड्नीको कार्यक्रममा अष्ट्रेलियामा जन्मेहुर्केका बालबालिका समेत सहभागीता थियो।   

क्यानबेरामा क्रिकेट प्रतियोगिता 

अष्ट्रेलियाको राजधानी शहर क्यानबेरामा बस्ने नेपालीहरूले पृथ्वीनारायण शाहको सम्झनामा क्रिकेट प्रतियोगिता गरे। सनातन समाज अष्ट्रेलियाले स्थानिय क्रिकेट क्लबहरू बीच प्रतियोगिताको आयोजना गरेर पृथ्वी जयन्ती मनायो। टी-टेन क्रिकेट प्रतियोगिताका रूपमा आयोजना भएको प्रतिष्पर्धामा ‘क्यानबेरा नेपलिज क्रिकेट क्लब’ बिजेता भयो। प्रतियोगितामा सुमित पडाल, संजय भट्ट, प्रशान्त विष्ट म्यानअफ द म्याच भए भने दिप्त रमन रिजाल बेस्ट फिल्डर भए। सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले पृथ्वी जयन्तीको दिनमा नै औपचारिक कार्यक्रम गरेर पुरस्कार वितरण गरेको जानकारी दिनुभयो। 

राप्रपाको भातृसंगठनको एडिलेडमा चियापान 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृसंगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरयो। कार्यक्रममा अष्ट्रेलिया भरका राप्रपाका सुभेक्षुक एवम् प्रवासी नेपाली एकता समाजका सदस्यहरूले पृथ्वीनारायण शाहको योगदान र त्यसबाट हरेक नेपालीले सिक्नुपर्ने पाठबारे चर्चा गरे। प्रवासी नेपाली एकता समाजका अजय राजवंशीले अष्ट्रेलियामा बस्ने नेपालीहरूले आफ्ना बच्चाहरूलाई किन आफू नेपाली हो र नेपालीको पहिचान के हो भन्ने सिकाउँदा पृथ्वी नारायण शाह चिनाउन छुटाउन नहुने बताए।

 

Post a Comment

Previous Post Next Post

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्